- विशेष खबर सोमबार २४, असोज २०७९ ०३:४७
काठमाडाैं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो ।
दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरु प्रस्तुत गरेको घिमिरेले बताए ।
लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस