२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पहिरोले पुरिएर आमाछोरीको मृत्यु, एक घाइते

- विशेष खबर आइतबार १२, भदौ २०७९ १०:०९

पहिरोले पुरिएर आमाछोरीको मृत्यु, एक घाइते

काठमाडाैं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । 

जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको हो । आइतबार दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा उक्त भवनभित्र ओत लाग्न बसेका आमा-छोरीको मृत्यु भएको हो ।

बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छन् । रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार आइतबार दिउँसो साढे ३ बजे पहिरो गएर भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो ।

त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार जाजरकोट नौगाड १ घर भएकी बालमती रुकुम पश्चिमबाट छोरीहरूलाई लिएर घर फर्कँदै गर्ने क्रममा यस्तो घटना भएको हो । घाइते तिर्सनाको अहिले जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस