आइतबार २८, बैशाख २०७७ ०५:५०
सियोल (एजेन्सी) । कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ ।
कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नु भएको छ ।
भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गरेकाे हाे ।
गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनीबाटै अरु ५० भन्दा बढी व्यक्तिमा कोरोना सरेको भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
सियोलका मेयर पार्क वोन–सूनले सानो असावधानीले संक्रमण व्यापक बन्न सक्छ भन्दै नगरपालिकाले जारी गरेको आदेश अनिश्चितकालका लागि लागू हुने बताए ।
सियोललाई घेरेको गियोङ्गी प्रान्तले पनि ५ हजार ७०० भन्दा बढी मनोरंजन केन्द्रहरु आइतबारदेखि लागू हुनेगरी दुई साताका लागि बन्द गरेको छ ।
इताओनका मनोरंजन केन्द्रहरुमा करिब ७ हजार २०० मानिस पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त स्थानमा पुगेका सबै नागरिकलाई तत्काल स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ ।
आइतबार भेटिएका ३४ जना नयाँ संक्रमितमध्ये २४ जना इताओनका मनोरंजन स्थलहरुमा पुगेका व्यक्ति रहेका कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसिडिसी) ले जनाएको छ ।
दक्षिण कोरियाको दैनिक जीवन विस्तारै सामान्यीकरणतर्फ उन्मूख भइरहेका बखत नयाँ संक्रमण देखिएको छ । सरकारले पनि गत बुधबारदेखि सामाजिक दूरीसम्बन्धी नियमलाई खुकुलो बनाएको थियो ।
कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।
हालसम्म लकडाउन नगरेरै कोरोना सङ्क्रमण नियन्त्रण गरेको दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस