२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाडौं आउँदै

- विशेष खबर बिहिबार १२, साउन २०७९ ०७:५१

अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने स्रोतले जनाएको छ । यद्यपि उनका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन ।

नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेपछि र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोकिएपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो नेपाल आगमन हो ।

डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए । साथै गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

उक्त सम्वादमा लुले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै आलोचना गरेको थियो । यद्यपि गत २०७८ फागुन १५ गते नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।  


प्रतिकृया दिनुहोस