२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

काठमाडाैंमा भाेलीदेखि कुहिने र नकुहिने फोहर छुट्टै संकलन गरिने, यस्ताे छ तालिका

- विशेष खबर शनिबार ३२, असार २०७९ ०८:१२

काठमाडाैंमा भाेलीदेखि कुहिने र नकुहिने फोहर छुट्टै संकलन गरिने, यस्ताे छ तालिका

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ । 

महानगरले शुक्रबार एक सूचना जारी गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।  

पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।

महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

महानगरपालिकाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।

पछिल्लो समय काठमाडाैं महानगरलगायत उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो । 


प्रतिकृया दिनुहोस