२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

बानी सुध्रिएपछि चार बाघ जंगलमै छाडिए

- रासस आइतबार १९, असार २०७९ १०:१५

बानी सुध्रिएपछि चार बाघ जंगलमै छाडिए

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए । जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले बताए । खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

छाडिएका बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिए । 'हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ,' उनले भने । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उनले बताए । 

निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् । 


प्रतिकृया दिनुहोस