२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

दक्षिण कोरियामा ५ प्रतिशत तलब बढ्ने,अब मासिक तलब न्यूनतम २ लाख

एजेन्सी बिहिबार १६, असार २०७९ ०७:३५

दक्षिण कोरियामा ५ प्रतिशत तलब बढ्ने,अब मासिक तलब न्यूनतम २ लाख

सोल। दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ । बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् । 

अब मासिक रुपमा कामदारको न्यूनतम तलब २० लाख १० हजार (२ लाख रुपैयाँ) वन हुनेछ । ओभरटाइम र सार्वजानिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् । यो नियम कोरियाका सम्पूर्ण उद्योगहरुमा लागू हुनेछ ।

ज्याला निर्धारण समितिले यो निर्णय गर्दा उद्योगी पक्षले उच्च ब्याजदर, कोरियाली वनको डलरसँगको उच्च गिरावट र कोरोना महामारीका कारण भएको आर्थिक क्षतिलाई कम गर्न कामदारको तलव बढाउन नहुने जनाएका थिए । त्यस्तै मजदुर युनियन पक्षले भने यस अघिका राष्ट्रपतिको कार्यकालमै प्रतिघन्टा १० हजार वन पुर्‍याउने घोषणालाई कार्यान्वयन गर्न माग गरेका थिए । ज्याला निर्धारण समितिमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९/९ जना सदस्य रहेका रहने व्यवस्था छ ।

प्रस्तावको निर्णय हुन पहिले नै सार्वजनिक क्षेत्रका ९ सदस्य र कोरियाली मजदुर युनियनका ४ जना प्रतिनिधिले आफूहरुले भने जस्तो तलब नबढाएको विरोधमा बैठक छाडेका थिए । बाँकी सदस्यहरुले भने निर्णयको पक्षमा मतदान गरेका थिए ।

समितिले गरेको ज्याला निर्धारण कोरियाली श्रम तथा रोजगार मन्त्रालयले आगामी अगस्ट ५ मा अनुमोदन गरेर अर्को वर्षको जनवरी १ देखि लागु गर्नेछ । ज्याला निर्धारण समितिले ८ वर्षमा पहिलो पटक समयमै अर्को वर्षका लागि ज्याला निर्धारण गरेको हो ।

यस अघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाएको थियो । त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबै भन्दा कम बढेको तलब हो ।


#दक्षिण कोरिया #ज्याला

प्रतिकृया दिनुहोस