२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

जहाज दुर्घटना : थप १० शव कोवाङ ल्याइयो, भीरमा अड्किएकाे एक निकालिँदै, एक अझै भेटिएन

मङ्गलबार १७, जेठ २०७९ ०८:५८

जहाज दुर्घटना : थप १० शव कोवाङ ल्याइयो, भीरमा अड्किएकाे एक निकालिँदै, एक अझै भेटिएन

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।

मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए । 'सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ,' उहाँले भन्नुभयो, 'आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।'

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताए । 'विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ,' उहाँले भन्नुभयो, 'शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।'

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनीले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।


प्रतिकृया दिनुहोस