२०८१ जेठ ०९ गते बुधबार | 22 May, 2024

तारा एयरकाे सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

- रासस सोमबार १६, जेठ २०७९ ०८:०३

तारा एयरकाे सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
तस्बिर स्राेत : नेपाली सेना

सन्ताेष गाैतम 

म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । 

मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा साेमबार बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएकाे जानकारी दिए । सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन । 
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिए। 

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको थियो । 

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ । 


प्रतिकृया दिनुहोस