२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि

- रासस आइतबार १५, जेठ २०७९ १०:३४

तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि
पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराइरहेको तारा एयरको जहाज खोजीका लागि पोखरा विमानस्थलबाट सम्भाव्य स्थानमा जाने तयारीमा नेपाली सेनाको हेलिकप्टर । तस्बिरः राधिका कंडेल/रासस

धनुषा । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने  गाउँमा नै चिन्तित भएका छन् ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।

सम्पर्कविहीन विमानकाे खोजी भइरहेको छ : तारा एयर
तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ । तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो ।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ ।

सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ । उक्त वायुयान खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौषम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ । उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ ।


प्रतिकृया दिनुहोस