२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

एमसिसी बारे कमल थापाले भने– 'नेपालको हितमा'

मङ्गलबार ०६, फागुन २०७६ १२:११

एमसिसी बारे कमल थापाले भने–  'नेपालको हितमा'

रुपन्देही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए ।

'सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ,' उनले भने । उनले एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने बताए ।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसके पनि पाँच वर्षसम्म कायमै रहने बताए । 'विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन । जनतालाई स्थिर सरकार चाहिएको छ,' उनले भने । विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गरे ।

उनले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राखे ।


प्रतिकृया दिनुहोस