२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

भारतीय प्रधानमन्त्री मोदी भोली नेपाल आउँदै, यस्तो छ कार्यक्रम

- विशेष खबर आइतबार ०१, जेठ २०७९ ११:०४

भारतीय प्रधानमन्त्री मोदी भोली नेपाल आउँदै, यस्तो छ कार्यक्रम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान एघार बजेतिर लुम्बिनी आउने छन् । 

हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ । 

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनी लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानेछन् । केही समय उनले त्यही होटलमा बिताउने छन् । 

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीं सुरु हुनेछ । 

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । मोदी दिवा भोजमा सहभागी हुनेछन् । त्यसपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यत्तिहरुसँग भेटवार्ता गर्नेछन् । 

सोमबार साढे तीन बजे उनले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ । 


प्रतिकृया दिनुहोस