२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

महाकाली तरेर भित्रिने क्रम राेकिएन

बिहिबार २५, बैशाख २०७७ १०:२५

महाकाली तरेर भित्रिने क्रम राेकिएन
फाइल तस्बिर

दार्चुला । सरकारले सीमामा कडाइ गरेकाे दाबी गरे पनि लुकिछिपी भारतबाट भित्रिने क्रम राेकिएकाे छैन । लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।

डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन् ।

नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् ।

यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् । लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए । 'एक महिनादेखि काम बन्द भयो,' उनले भने, 'नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।' तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए । 

नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।

उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । 'ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन,' उनले भने, 'लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।' उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ ।


#सीमा

प्रतिकृया दिनुहोस