२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

श्रीलंकामा हिंसात्मक झडप : एक सांसद मारिए, पूर्वमन्त्री र सांसदको घरमा आगजनी

एजेन्सी सोमबार २६, बैशाख २०७९ १०:४९

श्रीलंकामा हिंसात्मक झडप : एक सांसद मारिए, पूर्वमन्त्री र सांसदको घरमा आगजनी

काठमाडौं । श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । साथै १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सीहरूले प्रहरीलाई उद्धृत गर्दै सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्थानीय मिडियाका अनुसार एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी पनि गरिएको छ । पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। अहिले घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेको छ । घटनास्थलको उक्त भिडियोमा भीषण रुपमा आगजनी भइरहेको र धुवाँको मुस्लो देखाइएको छ ।

सरकारले कर्फ्यू लगाइरहँदा पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनलाई श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ । सोमबार बिहानैदेखि प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले प्रदर्शन गरिरहेका थिए ।

यसैबीच सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । यद्यपि प्रदर्शन रोकिएको छैन । साँझसम्म प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीस अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीहरू अहिले र्‍याली गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै धरपकड गरेको छ । २ करोड जनसंख्या रहेको श्रीलंकामा आर्थिक संकटसँगै पछिल्लो समय राजनीतिक संकट उत्पन्न भएको छ ।


प्रतिकृया दिनुहोस