२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

तिंकरका बासिन्दा गाउँ पुगे, प्रहरी सदरमुकाममै

- रासस बिहिबार २२, बैशाख २०७९ १०:५५

तिंकरका बासिन्दा गाउँ पुगे, प्रहरी  सदरमुकाममै
file photo

दार्चुला । व्यास गाउँपालिका–१ तिंकरका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । ६ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलङ्गामै छ । 

व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला ६ महिनापछि खुल्न थालेको छ । 'पाँच परिवार तिङ्कर पुगिसकेका छन्,' स्थानीयवासी दानसिंह तिङ्करीले भने, '३५ परिवार खलङ्गाबाट मङ्गलबार हिँडेका छन्, उनीहरु बाटोमा छन् ।' सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ । 

भारतीय प्रशासनको अनुमति लिएर स्थानीयवासी हिमाल उक्लिएका हुन् । खलङ्गाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुँदी, पाँचौँ दिन छाङ्गरु र छैठौँ दिन तिङ्कर पुगिन्छ । 

पशुचौपायासहित कुञ्चा सर्दा ६ दिन लाग्छ । स्थानीयवासी अहिले पाँच÷छ घण्टामै गाडीमा गाउँ पुग्छन् । भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिलो भएको स्थानीयवासी बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा सङ्कलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् ।

तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिङ्कर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ छ । 

स्थानीयवासी ६ महिना सदरमुकाम खलङ्गा र ६ महिना छाङ्गरु तिङ्कर बस्छन् । यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा ६ महिना मात्रै छायालेक बस्ने गर्छ । स्थानीयवासीको बसाइँ सरेसँगै खलङ्गा झरेका नेपाल प्रहरी स्थानीयवासी गाउँ पुग्दा पनि सदरमुकाम खलङ्गाबाट माथि उक्लिन सकेको छैन ।

निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनका लागि मतदान केन्द्र पनि तिङ्करमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिङ्कर पठाउने तयारी भएको बताउछन् । 'हामीले प्रक्रिया बढाइसकेका छौँ,' उनले भने, 'तर अझै हेलिकप्टर कहिले आउँछ भन्ने यकीन भएको छैन ।' 

प्रहरीको ६ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको उपरीक्षक विष्ट बताउँछन् । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको छ । प्रहरीलाई वैशाख २७ गतेअगावै पठाउने गरी पहल भइरहेको छ । छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरि बस्दै आएको छ । 

यस्तै सशस्त्र प्रहरी पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएको छ । तर अहिलेसम्म सशस्त्र प्रहरीलाई खटाउनेबारेमा निर्णय नभएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस