२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

मेलम्चीको पानी काठमाडौंका धारामा वितरण सुरु

- विशेष खबर आइतबार ११, बैशाख २०७९ १०:१८

मेलम्चीको पानी काठमाडौंका धारामा वितरण सुरु
फाइल फाेटाे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौंका धाराहरुमा वितरणको काम पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आइतबारबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे । उनले काठमाडौं उपत्यकामा पानीको समस्या अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

अघिल्लो सरकारको पालामा २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा सार्वजनिक धाराबाट मेलम्चीको पानी वितरणको थालनी गरेकी थिइन् । तर पर्याप्त तयारी र अधुरो काम गराइका कारण केही दिनमै उक्त धाराबाट पानी आउन बन्द भएको थियो । लगत्तै असार महिनामा आएको बाढी र पहिरोले मेलम्चीको मुहानमै क्षति पुर्याएपछि पानी वितरणको काम पूर्णरुपमा रोकिएको थियो ।

खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर २०७८ चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम सुरु गरेको थियो । आजबाट नयाँ र पुराना धाराबाट मेलम्चीको पानी घर–घरमा पुग्ने मन्त्रालयको दाबी छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने भनिएको छ ।  


प्रतिकृया दिनुहोस