२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु

- विशेष खबर शनिबार १०, बैशाख २०७९ ०७:०४

आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की रहेका छन् ।

स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा आलगागी भएको थियो । मृत्यु हुनेहरुमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंहकी भान्जी हुन् । उनी चार दिनअघि मामाघर आएकी थिइन् ।

आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले बताए । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ ।

आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कँदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।

घटनापछि मानसिंह सार्की, फागुनी सार्की र मानसिंहकी बहिनी रुन्चकली सार्की बेहोस अवस्थामा छन् । उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोली पुगेको छ।


प्रतिकृया दिनुहोस