मङ्गलबार २३, बैशाख २०७७ ११:३२
काठमाडाैं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी लकडाउनका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधारमा मान्न आग्रह गरेको छ ।
सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायहरुबारे विमर्श गरिरहेका बेला प्याब्सनले ०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको हो ।
कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको उल्लेख गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले मंगलबार विज्ञप्ति जारी गरी कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकङ्कनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् ।
गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।
प्रतिकृया दिनुहोस