२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

यौन दुर्व्यवहारका आरोपीलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमण

- विशेष खबर आइतबार ०६, चैत २०७८ ११:००

माेरङ। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

लेटाङ ५ का वडा अध्यक्ष भीम सूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडाध्यक्षले प्रहरीलाई बोलाएका थिए ।

तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई लैजान दिएन । दिउँसो १ बजेसम्म सामान्य रहेको स्कुल तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

आक्रोशित भीडले व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न नसकिएकाे र राति प्रहरीले लैजाँदा बाटोमा आक्रमण भएकाे हाे । अाक्रमणमा एक प्रहरीको अवस्था गम्भीर छ ।

प्रहरी स्रोतका अनुसार एक जना महिला प्रहरीको घाँटीमा हतियार प्रहार भएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस