२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

तत्कालीन सहन्यायाधिवक्ता थापाविरुद्ध भ्रष्टाचार मुद्दा, ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम

- विशेष खबर बुधबार २६, माघ २०७८ ०९:१०

तत्कालीन सहन्यायाधिवक्ता थापाविरुद्ध भ्रष्टाचार मुद्दा, ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम

काठमाडौं । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको छ ।

२०४५ असार ५ मा सरकारी सेवा प्रवेश गरेका थापाविरुद्ध अख्तियारले बुधबार ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले थापाविरुद्ध सेवा प्रवेश गरेदेखि २०७५ सम्मको सम्पत्तिमाथि छानबिन गरेको थियो । २०७५ असोज २४ मा सहन्यायाधिवक्ता थापा ५ लाख घूससहित पोखराबाट रंगेहात पक्राउ परेका थिए । ठगीसम्बन्धी मुद्दा पुनरावेदन नगर्ने सर्तमा आरोपितबाट ५ लाख घूस लिँदालिँदै अख्तियारको टोलीले थापालाई पक्राउ गरेको थियो । विशेषमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए । त्यही क्रममा थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा पनि उजुरी परेपछि अख्तियारले सम्पत्ति छानबिन अघि बढाएको थियो ।

अनुसन्धानलाई टुंगोमा पुर्‍याउँदै अख्तियारले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । घूसको मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ ।


प्रतिकृया दिनुहोस