आइतबार २१, बैशाख २०७७ १२:२२
काठमाडौं । एक साताअगाडि निको भएर घर फर्किएका रौतहटकाे इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि पुन: आइसोलेसनमा लगिएकाे छ ।
शनिबार राति उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।
अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।
अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब पुनः चेक हुँदा पोजिटिभ आएको थियो । स्रोतका अनुसार परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिकृया दिनुहोस