२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

दार्चुलामा महाकालीमाथि पक्की पुल बन्ने, भौतिक पूर्वाधार सचिव र भारतीय राजदूतले गरे सम्झौतामा हस्ताक्षर

- विशेष खबर मङ्गलबार १८, माघ २०७८ ०८:४४

दार्चुलामा महाकालीमाथि पक्की पुल बन्ने,  भौतिक पूर्वाधार सचिव र भारतीय राजदूतले गरे सम्झौतामा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी महाकालीमा गाडी गुड्ने पुल निर्माण हुन  लागेको हो । पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपाल र भारतबीच मंगलबार हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौतापत्रमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्ताक्षर गरेका हुन् । 

पुल सञ्चालनमा आएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमन सुदृढ हुनाका साथै दुवै देशका सीमा क्षेत्रका समुदायबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास भारत सरकारले गरेको छ ।

नेपाल र भारतबीचको प्रगाढ मैत्रीको सेतुको रुपमा रहने उक्त पुलले वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन र दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने नीतिअनुरुप रहेको तथा पुल निर्माण चाँडै सुरु गरिने यहाँस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।


प्रतिकृया दिनुहोस