- विशेष खबर शुक्रबार १४, माघ २०७८ १०:०४
दार्चुला । एक वर्षीया छाेरी बाेकेर माइती हिँडेकी युवती छाेरीसहित रूखमा झुण्डिएकाे अवस्थामा फेला परेकी छिन् ।
शैल्यशिखर नगरपालिका–८ तल्चौरमा खन्याको रुखमा एक वर्षीया छोरीसहित आमाले शुक्रबार झुण्डिएर आत्महत्या गरेकाे हाे ।
शैल्यशिखर–७ बोहरीगाउँबाट शुक्रबार दिउँसो बैतडीकाे दाेगाडाकेदार गाउँपालिका न्वालीस्थित माइती हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।
दुपट्टा च्यातेर दुई भाग बनाई एउटामा छाेरी र अर्कोमा युवती आफू रुखमा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले बताए । मृतक युवतीको माइती घर बैतडीको दोगडाकेदार गाउपालिकाको न्वाली रहेको शैल्यशिखर नगरपालिका–८ का वडा अध्यक्ष अजबसिह बिष्टले बताए। मृतक युवतीका श्रीमान् भारतकाे बेंग्लाेरमा छन् । उनकाे गत वैशाखमा विहे भएकाे एक वर्ष पूरा भएकाे थियाे ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायण बिष्ट नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमाटमको लागि शव गोकुलेश्वर अस्पताल लगेको वडाध्यक्ष बिष्टले बताए । ‘घटना के, कति कारणले भएको हो, यसबारे पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ’, प्रहरी निरीक्षक बिष्टले भने, ‘हामी घटनाको अनुसन्धानमा जुटेका छाैं ।’
प्रतिकृया दिनुहोस