२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

- विशेष खबर शुक्रबार २३, पुष २०७८ १०:१९

ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू भएका छन् ।

बैठकले देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन चुस्तदुरुस्त राख्ने लगायत निर्णयहरू गरेको एकमन्त्रीले जानकारी दिए ।

बैठकले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने अत्याधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत सामाग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव र प्रधानसेनापति लगायत सीसीएमसीका अधिकारीहरू सहभागी थिए ।


प्रतिकृया दिनुहोस