२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन

मङ्गलबार २०, पुष २०७८ १०:१६

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएका छन् ।

मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न पत्र काटेको छ ।

समितिले सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद भएकाले मन्त्रालयको निर्देशनअनुसार निर्माण कार्य रोक्न भनेको छ । 'यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,' पत्रमा उल्लेख छ ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माणका लागि भएका सम्झौता, टेन्डर लगायतका निर्णयका कागजात पनि मन्त्रालय झिकाएका छन् । 

समितिले नारायणहिटी दरबार संग्रहालयको १० रोपनी जग्गा भाडामा दिएको थियो । बतास कम्पनीले रेस्टुरेन्ट सञ्चालन गर्न सम्झौता गरेको भए पनि सो क्षेत्रफलभन्दा बढी जमिन ओगटेर स्थायी संरचना निर्माण गरेपछि विवाद उत्पन्न भएको हो ।


प्रतिकृया दिनुहोस