२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

रेडक्रसमा फेरि तदर्थ समिति गठन, तीन महिनाभित्र अधिवेशन गराउन म्यान्डेट

- विशेष खबर बिहिबार १५, पुष २०७८ ०६:४२

रेडक्रसमा फेरि तदर्थ समिति गठन,  तीन महिनाभित्र अधिवेशन गराउन म्यान्डेट

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

तदर्थ समितिको उपाध्यक्षमा विष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेजु, उपमहामन्त्रीमा मनोजकुमार थापा र भगवती शर्मा नियुक्त भएका छन् ।

सो समितिलाई आगामी तीन महिनाभित्र अधिवेशन गराउने म्यान्डेट दिइएको एक मन्त्रीले जानकारी दिए ।

रेडक्रसको विधानअनुसार ०७५ मै तत्कालीन समितिको पदावधि सकिएको थियो । पछि एक वर्ष थपेर ०७६ सम्म कार्यकाल थप्ने निर्णय भयो । तर, नेतृत्वले त्यसपछि पनि अधिवेशन गर्न नसकेपछि ०७७ को साउनमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गरेको थियो ।

तर, सो समितिले पनि अधिवेशन गराउन नसकेपछि सरकारले पुनः तदर्थ समिति गठन गरेको हो ।

समाज कल्याण परिषद् ऐन, ०४९ अनुसार गैरसरकारी संस्था भङ्ग भएको तीन महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्ने व्यवस्था छ । ‘अघिल्लो समितिले अधिवेशन गर्न नसकेपछि पुनः यो तदर्थ समिति गठन गरिएको हो, यसले आगामी तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ,’ ती मन्त्रीले भने ।


#रेडक्रस #मन्त्रिपरिषद् #तदर्थ समिति

प्रतिकृया दिनुहोस