२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

काेराेना संक्रमण : दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द

- विशेष खबर मङ्गलबार १३, पुष २०७८ ०९:५४

काेराेना संक्रमण : दिल्लीका स्कुल, कलेज र सिनेमा हल बन्द

नयाँदिल्ली । कोराेनाकाे बढ्दो संक्रमणलाई मध्यनजर गरेर दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ ।मंगलबार विपद् व्यवस्थापन प्राधिकरण दिल्लीले सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको छ ।सरकारले रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाइएको छ । राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँड्डुलमा रोक लगाइएको छ ।

लगातार तेस्रो दिन संक्रमण दर ०.५ भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत केही प्रतिबन्धहरू लगाएको हो । नयाँ निर्देशिकाअनुसार मेट्रो, बस, रेस्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाइनेछ । एक महिना अगाडि मात्रै मेट्रोलाई शतप्रतिशत क्षमतामा सञ्चालनमा ल्याएको थियो । मल्टिप्लेक्स, बैंक्वेट तथा स्पोर्ट कम्पलेक्स बन्द रहनेछन् । अत्यावश्यकबाहेकका पसलहरू जोरबिजोर दिनका आधारमा सञ्चालन गरिने छ । पसलहरूलाई बिहान १० देखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ ।

विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाड पर्वको आयोजनाका नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ । निजी क्षेत्रका कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ । त्यस्तै, धार्मिक स्थलमा बाहिरी व्यक्तिको आवतजावतमा रोक हुनेछ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीवासीलाई गरेको सम्बोधनमा संक्रमणको गति बढ्दै गए पनि नआत्तिन आग्रह गरेका छन् । उनले यस पटक संक्रमणबाट मानिसहरूमा गम्भीर समस्या नदेखिएको र सरकारले पनि आफ्नो तयारी पूरा राखेको बताए ।

मंगलबार दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या १ सय ६५ पुगेको छ । भारतभर मंगलबार साँझसम्म संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । हालसम्म भारतका २१ राज्यमा यसको संक्रमण पुष्टि भइसकेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।


प्रतिकृया दिनुहोस