२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

भारतमा काेराेना फेरि बढ्दै, सात राज्यमा लगायाे कर्फ्यु

- विशेष खबर सोमबार १२, पुष २०७८ ०८:५४

भारतमा काेराेना फेरि बढ्दै, सात राज्यमा लगायाे कर्फ्यु

नयाँदिल्ली । भारतमा पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै गएपछि दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, मध्यप्रदेश र कर्नाटक राज्यमा रात्रिकालीन कर्फ्युको घोषणा गरिएकाे छ। ती राज्यहरूमा भीडभाड गर्न रोक लगाइएको छ । 

दिल्लीमा आइतबार २ सय ९० जना संक्रमित भएपछि दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । नयाँ निर्देशिका जारी गर्दै सिनेमा हल, बैंकेट तथा मनोरञ्जन पार्क बन्द गरिने जनाएको छ । त्यस्तै, मेट्रो तथा सार्वजनिक बसलाई सिट संख्याको आधा मात्र यात्रु बोक्न पाउने अनुमति दिइने भएको छ । दिल्लीमा दुई दिनअगाडि दिल्लीमा संक्रमितको संख्या १ सय ९ थियो । दिल्लीमा सक्रिय संक्रमितको संख्या एक हजार पुगेको छ । आइतबार संक्रमण दर ०.५५ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरिएन्ट ओमिक्रोनबाट आइतबार साँझसम्म ४ सय २२ जना संक्रमित भइसकेका छन् । तर कतिपय सञ्चार माध्यमले थप केही राज्यमा ओमिक्रोन संक्रमित बढी भएको भन्दै उक्त संख्या ४ सय ५० कटिसकेको दाबी गरेका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १ सय ८, दिल्लीमा ७९, गुजरातमा ४१, केरलमा ३८, तमिलनाडुमा ३४ जना ओमिक्रोन संक्रमित भेटिएका छन् । हालसम्म १७ राज्यमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । अहिले भारतमा ७६ हजार ७ सय ६६ जना सक्रिय संक्रमित छन् ।

केन्द्र सरकारले राज्य सरकारहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन दिनदिनै निर्देशन दिइरहेको छ ।


प्रतिकृया दिनुहोस