२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

राजनीतिक दलका निर्वाचनमा भाग नलिन शिक्षक-कर्मचारीलाई त्रिविको निर्देशन

- विशेष खबर बिहिबार ०८, पुष २०७८ ०६:५५

राजनीतिक दलका निर्वाचनमा भाग नलिन शिक्षक-कर्मचारीलाई त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यहाँ कार्यरत शिक्षक र कर्मचारीहरूलाई राजनैतिक दलका निर्वाचनमा उम्मेदवार नहुन सचेत गराएको छ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी प्रशासन महाशाखाले हालै एक सूचना जारी गर्दै उम्मेदवार नबन्न सचेत गराएको हो ।

विभिन्न राजनीतिक दलका महाधिवेशनमा शिक्षक र कर्मचारीहरू नै उम्मेदवार बन्न थालेपछि त्रिविले बिहीबारको गोरखापत्र दैनिकमा उक्त सूचना प्रकाशन गरेको हो । राजनीतिक दलको सदस्यता लिएर वा नलिएर पनि उम्मेदवार बनेको पाइएमा त्रिविले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यदी कुनै दलमा आवद्ध हुनुपर्ने भएमा १५ दिनअघि नै विश्वविद्यालय सेवाबाट राजीनामा दिनुपर्ने पनि सूचनामा उल्लेख छ ।

'विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी शिक्षक तथा कर्मचारीहरू प्रचलित कानुन अनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दल सम्बन्धी ऐनको विपरीत हुने भएकोले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुनु हुन सूचित गरिन्छ,' त्रिविको सूचनामा उल्लेख छ, 'अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रिवि नियम अनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।'

त्रिभुवन विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा सदस्यता लिएर वा नलिएर पनि राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने कानुनी व्यवस्था छ ।

यसअघि सम्पन्न भएका नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशनको क्रममा उल्लेख्य मात्रामा शिक्षक र कर्मचारीहरूले भाग लिएका थिए ।


# त्रिभुवन विश्वविद्यालय

प्रतिकृया दिनुहोस