२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

भारतमा काेराेना संक्रमण बढ्दै, दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रम गर्न राेक

बिहिबार ०८, पुष २०७८ ०९:३२

भारतमा काेराेना संक्रमण बढ्दै, दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रम गर्न राेक

काठमाडाैं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ। 

दिल्लीको विपद् व्यवस्थापन निकायले एक सूचना जारी गर्दै कुनै पनि प्रकारको सांस्कृतिक कार्यक्रम तथा पर्वमा हुने जमघटमा रोक लगाएको हो। नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ । 

त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ। यसको पूर्ण पालना गराउन राज्य सरकारले जिल्ला प्रशासन र दिल्ली पुलिसलाई आदेश दिएको छ। यस्तै बजार पसलमा ‘नो मास्क, नो इन्ट्री’ कडाईका साथ पालना गर्न निर्देशन दिएको छ।

पछिल्लो समय भारतमा ओमिक्रोन संक्रमितको संख्या दिनहुँ बढिरहेका छन्। 

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४, जम्बु-काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २-२ तथा आन्द्र प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बंगालमा १-१ संक्रमित फेला परेका छन्। 

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा १८.६ प्रतिशतले बढी हो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमित ७८ हजार १ सय ९० जना छन्। त्यसैगरी पछिल्लो २४ घन्टामा ३ सय १८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 


प्रतिकृया दिनुहोस