२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

दिल्लीमा संक्रमण ६ महिनायताकै उच्च

सोमबार ०५, पुष २०७८ ०९:००

दिल्लीमा संक्रमण ६ महिनायताकै उच्च

काठमाडाैं । भारतको राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण ६ महिनाअघिको अवस्थामा पुगेको छ । आइतबार संक्रमितको संख्या एक सयभन्दा बढी पुगेको छ । दिल्लीमा एकैदिन संक्रमित हुनेको संख्या यो ६ महिनायताकै उच्च हो । 

सरकारी तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा १ सय ७ जना संक्रमितहरू थपिएका हुन् । जुन २७ पछि पहिलो पटक संक्रमितको संख्या एक सय नाघेको हो । संक्रमण दर शून्य दशमलव १७ देखिएको छ । पछिल्लो केही महिनायता संक्रमणको दर शून्य दशमलव १० भित्र थियो । पछिल्लो दस दिनको अन्तरालपछि एक जना संक्रमितको दिल्लीमा मृत्यु पनि भएको छ । सक्रिय संक्रमितको संख्या हाल ५ सय ४ छ ।

दिल्लीमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि २२ पुगेको छ । दिल्ली सरकारले थप तीन निजी अस्पताललाई पनि ओमिक्रोनको जोखिम मानिएको मुलुकबाट आएका शंकास्पद वा संक्रमित बिरामी राख्नका लागि तोकेको छ । यसअघि सरकारी अस्पतालमा मात्र राख्ने गरिएको थियो । भारतभर ओमिक्रोन संक्रमितको संख्या भने १४६ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४८ जना छन् ।

संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै नेसनल कोभिड–१९ सुपरमोडल प्यानलले आउँदो फेब्रुअरीमा भारतमा कोभिडको तेस्रो लहर उच्च बिन्दुमा पुग्ने आकलन गरेको छ । अहिले भारतमा सरदर दैनिक साढे ७ हजार डेल्टा भेरिएन्ट संक्रमित थपिने गरेका छन् ।


प्रतिकृया दिनुहोस