२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

अत्याधुनिक हतियार उत्पादन गर्न रूस र भारतबीच ५१ सय करोड भारूबराबरको सम्झौता

- विशेष खबर मङ्गलबार २१, मङि्सर २०७८ १२:५६

अत्याधुनिक हतियार उत्पादन गर्न रूस र भारतबीच ५१ सय करोड भारूबराबरको सम्झौता

नयाँदिल्ली । रूसको सहयोगमा भारतमा सैन्य प्रयोजनका लागि अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन हुने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्त्वपूर्ण रक्षा सम्झौता भएको हो ।

इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ । ५ हजार १ सय करोड भारतीय रुपैयाँको उक्त सुरक्षा सम्झौताअन्तर्गत ६ लाख राइफल उत्पादन गरिने छ । नयाँ राइफल अहिले भारतीय सेनाले प्रयोग गर्ने इन्सास राइफलको तुलनामा धेरै हलुंगो र सानो हुने हुने बताइएको छ । मिडिया रिपोर्टकाअनुसार व्यापार र लगानीसमेत विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर भएका छन् ।

रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि अबेर राति ९९ बुँदाको संयुक्त वक्तव्य जारी गरिएको थियो । जसमा अन्तरिक्ष, विज्ञान, औद्योगिक, आतंकलगायतका मुद्दा समावेश छन् । ६ घण्टाका लागि मात्रै भारत आएका पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा वार्ता भएको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगलाले दुई नेताबीचको कुराकानी धेरै दृष्टिकोणबाट उपयोगी भएको बताए । उनले अफगानिस्तानको सन्दर्भमा पनि एकसाथ काम गर्ने विषयमा दुई नेताबीच चर्चा भएको उनले उल्लेख गरे ।

हतियारको बलमा तालिबानले अफगानिस्तानमा शासन सत्ता कब्जामा लिएपछि भारत अफगानिस्तानलाई लिएर सशंकित छ । त्यहाँबाट आतंकवादी गतिविधि बढ्न सक्ने चिन्ता भारतको छ । अर्कोतिर, रूसले भने तालिबानलाई उचित शासकको संज्ञा दिएको छ । तालिबानलाई हेर्ने दृष्टिकोणमा दुई देशबीच मतभिन्नता कायम छ । तर, आतंकवाद नियन्त्रणका सवालमा भने रूस र भारत एक ठाउँमा रहने मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

पुटिन र मोदीले एक अर्काको नेतृत्वको प्रशंसा गरेका छन् । पछिल्लो दशकमा विश्वभर अनेक भूराजनीतिक परिवर्तन भए पनि रूस र भारतको मित्रतामा समस्या नपरेको भन्दै त्यसले नै दुई देशको मित्रताको महत्त्वलाई झल्काएको मोदीले उल्लेख गरेका थिए । उनले दुई देशले एक अर्कालाई बिनासंकोच सहयोग गर्नुका साथै एक अर्काको भावना बुझ्ने गरेको चर्चा गरे । पुटिनले पनि भारतको मित्रताको प्रशंसा गरेका छन् । इकान्तिपुर


#भ्लादिमिर पुटिन #नरेन्द्र मोदी

प्रतिकृया दिनुहोस