२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

ओमिक्रोन विरुद्ध आवश्यक तयारी थाल्न समितिको निर्देशन

- विशेष खबर आइतबार १९, मङि्सर २०७८ ०५:३७

ओमिक्रोन विरुद्ध आवश्यक तयारी थाल्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण संक्रमण फैलनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिले आवश्यक तयारी सुरु गर्न निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

घर्तीका अनुसार जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउन मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

उनले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकता अनुसार बन्दोबस्त गर्न पनि निर्देशन दिएको जानकारी दिइन् ।

‘खोपलाई छिटोभन्दा छिटो जनताकहाँ पुर्‍याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नु भएको छ । हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु । ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । किनकि थोरै हुन्छन् । त्यस्तो गरे सजिलो हुन्छ । यो व्यवस्था स्वास्थ्य मन्त्रालयले गरोस्,' सभापति घर्तीले भनिन् ।

यस्तै बाहिरबाट आएका मानिसलाई नगरपालिका, गाउँपालिका र वडामा पुगेर खोप लगाउने व्यवस्था गर्नुपर्ने पनि उनले बताइन् । तर ओमिक्रोनबाट बच्न र आम मानिसबाट भय हटाउन शतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् ।


#ओमिक्रोन #स्वास्थ्य तथा जनसंख्या

प्रतिकृया दिनुहोस