२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा राेक

- विशेष खबर आइतबार १२, मङि्सर २०७८ ०६:५२

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा राेक

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशका सँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलाका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले स्पष्ट पारे ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् । इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने यूरोपका अधिकांश देशले अफ्रिकी मुलुकबाट हुने हवाईयात्रा माथि प्रतिबन्ध लगाएको छ ।


#काेराेना भइरस #ओमिक्रोन

प्रतिकृया दिनुहोस