२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

अन्तर्राष्ट्रिय सीमा खोल्ने अस्ट्रेलियाकाे निर्णय

सोमबार ०६, मङि्सर २०७८ ०१:१०

अन्तर्राष्ट्रिय सीमा खोल्ने अस्ट्रेलियाकाे निर्णय

सिड्नी । अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन् ।

अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेपछि प्रधानमन्त्रीको यो निर्णय आएको हो । विद्यार्थीसहित अन्य विदेशीका लागि सीमाना खुला गरिएसँगै करिब २ लाख भिसावाहक केही महिनाभित्रैमा अस्ट्रेलिया भित्रिने सम्भावना रहेको छ । यद्यपि अस्ट्रेलिया आउने विद्यार्थीले क्वारेन्टाइन बस्न पर्ने वा नपर्ने निर्णय भने स्थानीय राज्य सरकारको हुनेछ ।

अस्ट्रेलियामा अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी आउने राज्यहरु न्यु साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्राको खोप लगाइसकेका विदेशी नागरिकलाई क्वारेन्टाइन बस्न नपर्ने बताइसकेका छन भने राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउन चाहनेले समेत क्वारेन्टाइन बस्न पर्नेछैन । विद्यार्थीले ३ दिनभित्रको कोरोना भाइरस नेगेटिभको प्रमाण भने पेस गर्नुपर्नेछ ।

गृह मन्त्रालयद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार २८ वटा विभिन्न शीर्षकका भिसावाहक विदेशी नागरिकले डिसेम्बर १ तारिखदेखि आउन पाउनेछन् । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय, वर्क एन्ड होलिडे लगायतका छन् ।

यसअघि यहाँ आउनका लागि ‘एक्जेम्पसन’ का लागि आवेदन दिनुपर्ने प्रावधान राखिएको थियो । यो प्रावधान हटाएसँगै अब पूर्ण खोप लगाएका र उपयुक्त भिसा भएका हरेक विदेशीले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।


प्रतिकृया दिनुहोस