२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीयको मृत्यु

- विशेष खबर आइतबार २८, कार्तिक २०७८ ०८:२८

रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीयको मृत्यु
तस्बिर साैजन्य : राैतहट प्रहरी

काठमाडाैं । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुर-गाैर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा त्यसमा सवार चार जनाको मृत्यु भएको हो । मृतकहरूकाे सनाखत भने हुन सकेको छैन ।

राति सवा १० बजेतिर यू के १२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भई सडकपेटीभन्दा झण्डै २० मिटर तल पानीमा डुबेको थियो । कार पूरै खाल्डाेकाे पानीमा डुबेपछि भित्रका मानिसकाे निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनाको केही समयपछि बम नहरनजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाएकाे थियाे । लगत्तै जिल्ला प्रहरी कार्यालयसहितबाट गएकाे टाेलीले कारको सीसा फुटाएर भित्र रहेकाहरुलाई निकालेको जिल्ला प्रहरीका कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

कारभित्र रहेका सबैको मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेकाे उनले बताए । दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले पानीबाट निकालेकाे थियाे । मृतकहरूकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।


प्रतिकृया दिनुहोस