२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

आजदेखि देशभर जनगणना, साढे ८ हजार सुपरीवेक्षक र ४० हजार गणक खटाइए

- विशेष खबर बिहिबार २५, कार्तिक २०७८ ०७:१५

आजदेखि देशभर जनगणना, साढे ८ हजार सुपरीवेक्षक र ४० हजार गणक खटाइए

काठमाडौं । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना १२ औं राष्ट्रिय जनगणना आजदेखि सुरु भइरहेकाे छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक गर्न लागिएको जनगणना मंसिर ९ मा सकिनेछ ।

जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिने छ ।जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

देशभरिमा ७० लाख घर र ३ करोडभन्दा बढी जनसंख्या रहेको आकलन गरिएको छ । काठमाडौंको थापाथलीस्थित विभागको कार्यालय हातामा डाटा प्रशोधन केन्द्र स्थापना गरिएको छ । पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने र त्यो पूरा गर्न ६ देखि ८ महिना लाग्ने विभागले जनाएको छ । प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिनाभित्र र सम्पूर्ण नतिजा प्रकाशनका लागि भने दुई वर्ष लाग्ने विभागको भनाइ छ ।


प्रतिकृया दिनुहोस