२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

प्रधानन्यायाधीश राणा आर्थिक विचलनमा लिप्त : वरिष्ठ अधिवक्ता थापा

- विशेष खबर मङ्गलबार २३, कार्तिक २०७८ ०६:३५

प्रधानन्यायाधीश राणा आर्थिक विचलनमा लिप्त : वरिष्ठ अधिवक्ता थापा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आर्थिक विचलनमा लिप्त भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । अहिलेसम्म न्यायालयमा भ्रष्टाचार छ र आर्थिक विचलन छ भनेर अमूर्त रूपमा भनिरहेकोमा अब प्रष्ट रूपमा प्रधानन्यायाधीश जबरा नै आर्थिक विचलनमा लिप्त भएको भन्नुपर्ने उनले बताए । 

संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार आयोजना गरेको 'न्यायपालिकाको वर्तमान संकट एवं निकास' विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता थापाले भने, 'अहिलेको जो प्रधानन्यायाधीश हुनुहुन्छ पैसामा लिप्त हुनुभयो, आर्थिक विचलनमा लिप्त हुनुभयो ।'

अब प्रष्ट रूपमा प्रधानन्यायाधीश भ्रष्टाचार गर्छन् भन्ने बेला आएको उनको भनाइ थियो । 'प्रधानन्यायाधीश भ्रष्टाचार गर्नुहुन्छ । अब बोल्दाखेरि यसरी बोल्ने हो । थाहा छ बोल्नुस् । थाहा छैन नबोल्नुस् । थाहा भएर पनि बोल्नुहुन्न, नबोल्नुस् । प्रधानन्यायाधीश शुद्ध छन् भन्ने लागे, भन्नुस् र मलाई विश्वस्त पार्नुस्,' उनले भने । प्रधानन्यायाधीश जबरामा कानुनी नैतिकता पनि सकिएको उनको भनाइ थियो ।

नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके त्यत्तिकै नभनेको पनि थापाको भनाइ थियो । अति गरिसकेपछि सबैले बोल्नुपर्ने अवस्था आएको थापाको भनाइ थियो ।

'यिनीहरूले पैसा कसरी व्यवस्थापन गरेका छन् भन्ने राज्यले अनुसन्धान गर्नुपर्ने तर गर्दैन,' थापाले भने, 'अमेरिकामा कोही पीआर लिएर बसेको छ । उसको नाउँमा ग्यास स्टेसन किनिदिएको छ । पैसा त्यसरी गएको छ । पैसा होटेलमा गएको छ । पैसा उताबाट विदेशी रकम भएर आएको छ ।'

‘प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्न सक्नुभएन होइन कि भ्रष्टचार गर्नुहुन्छ भनौं, थाहा छ बोल्नुस् थाहा छैन नबोल्नुस्, शुद्ध हो भनौं’ उनले भने ।

प्रधानन्यायाधीशले न्यायाधीशको कुनै चरित्र नै नदेखाएको थापाले बताए । ‘प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको रुपमा देखेनौं भन्ने कि के भन्ने ?’ उनले प्रश्न गरे ।

थापाले अघि भने ‘पुनरावलोकन गरे पुनरावलोकनमै बार्गेनिङ गर्छ भन्छन् । उहाँको बेन्चमा परेकोमा कसैलाई विश्वास नै छैन यो के हो भन्ने कुरा, मेरो पक्षले मिलायो कि तेरो पक्षले मिलायो । यस्तो पनि न्यायाधीश हुन्छ ?’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले लगाएको आरोप सबै प्रधानन्यायाधीश जबरामाथि खनिएको भन्दै थापाले यत्तिको प्रधानन्यायाधीश विगतमा पनि नभएको र आगामी दिनमा पनि नआउने बताए । ‘उहाँले नियुक्ति गरेकामा आएछन् भने म भन्न सक्दिन । नभए आउँदैनन्’ उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबरालाई हठ गरेर नबस्न र राजीनामा दिन आग्रह गरे । ‘यो हठ र लठमा धेरै के के हिसाब मिलाउनु छ भनेर नबस्नुस्, कुनै मुद्दा मामिलामा केही छ भने पनि छोडिदिनुस्’ उनले भने ।


#प्रधानन्यायाधीश #अधिवक्ता शम्भु थापा

प्रतिकृया दिनुहोस