२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

नेपालबाट मनसुन बाहिरिन सुरु, ठूलो वर्षाको सम्भावना कम

शनिबार २३, असोज २०७८ १०:१०

नेपालबाट मनसुन बाहिरिन सुरु, ठूलो वर्षाको सम्भावना कम

काठमाडौं । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा ६ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ ।

मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश १, २, वाग्मती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ । शनिबार राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडी आसपास विकसित भएको (न्यून चापीय क्षेत्र)का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो । उक्त दिन नेपालको प्रदेश १, २ र वाग्मती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ ।

सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो ।


प्रतिकृया दिनुहोस