२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

छाङरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै

बुधबार २०, असोज २०७८ ११:४०

छाङरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै
दार्चुलाकाे कालापानीनजिक व्यास क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी । फाइल तस्बिर

दार्चुला । त्रिदेशीय सीमा नजिकैको व्यासको छाङरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ ।

सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो ।

नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छाङरु सीतापुलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्यासको छाङरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छाङरुमा बस्न थालेको छ ।

प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो । छाङरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो ।

भवन निर्माणका लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण शुभारम्भ गरेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।

पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुईतले ११ कोठे भवन निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने छ ।  भवन निर्माणका लागि कूल दुई करोड दुई लाख ८५ हजार ५१९ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता गरिएको थियो ।

भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यो क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन । अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ । भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन गरिएको छ । 

भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ । सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ ।

भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको प्रनाउ भट्टले बताए । छाङरुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी बस्ने गरेका छन् ।


प्रतिकृया दिनुहोस