२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

चाडपर्वमा जिल्लाका सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक

आइतबार १७, असोज २०७८ १०:२५

चाडपर्वमा जिल्लाका सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक

काठमाडौं । गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्‍न देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ ।

गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक सीडीओसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन् । गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ ।

यसैगरी चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना लागू गर्न पनि गृहले निर्देशन दिएको छ ।

नेपालीका प्रमुख चाडपर्व दसैं, तिहार, नेपाल संवत, छठलगायत नजिकिँदै छन् । गृह मन्त्रालयको निर्देशनपछि देशभर जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ । पर्वलाई लक्षित गरी सबै जिल्लामा बजार अनुगमनलाई पनि बढाइएको छ ।

जिल्लाको सुरक्षा चुनौती र आवश्यकता अनुसार पर्व सुरक्षा योजना लागू गर्न र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन पनि निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 


प्रतिकृया दिनुहोस