२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

अग्रिम टिकट बुकिङ गर्ने न्यून, उपत्यकाबाट बाहिरिने ३० प्रतिशतमात्रै

बुधबार १३, असोज २०७८ ०९:२७

अग्रिम टिकट बुकिङ गर्ने न्यून, उपत्यकाबाट बाहिरिने ३० प्रतिशतमात्रै
फाइल तस्बिर

काठमाडाैं । दसैंतिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको संख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो ।  

सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन । यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ । 

यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दसैंमा घर फर्किनेमध्ये विद्यार्थीको संख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको संख्या न्यून छ । कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए ।   

सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । थोरै सङ्ख्यामा यात्रुले अनलाइन टिकट काटेका छन् । पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ ।

यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ । 'ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन्,' भुसालले भने । 


प्रतिकृया दिनुहोस