२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

मङ्गलबार १२, असोज २०७८ ०९:५०

तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

वाग्मती । मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् ।

खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

मंगलबार दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएका थिए । एक जना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेकाे थियाे ।

आज साँझ बालिकाको शव फेला परेको प्रनानि रिमालले बताए । मृत्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ । (रासस)


प्रतिकृया दिनुहोस