सोमबार १५, बैशाख २०७७ १२:०९
बैतडी । विभिन्न स्थानीय तहले जिल्ला बाहिर रहेका नागरिकलाई फर्काउन थालेपछि जिल्ला भित्रिने सबैले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रको आइतबार बसेको बैठकले जिल्ला बाहिरबाट जिल्ला प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्य सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
१४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि मात्रै आरडीटी गरेर रिपोट नेगेटिभ आएपछि घर पठाउने निर्णय भएको छ ।
जिल्लाका सबैजसो स्थानीय तहले काठमाडौं तथा देशका अन्य क्षेत्रमा रहेका नागरिकलाई जिल्ला भित्र्याउने निर्णय गरेकाले त्यसलाई व्यवस्थित बनाउन समस्यामा परेकालाई मात्रै जिल्ला भित्र्याएर अनिवार्य क्वारेन्टाइनमा बस्ने सर्तमा जिल्ला भित्र्याउने निर्णय भएको प्रशासन कार्यालयले जनाएकाे छ ।
सीमापारी रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन् । स्थानीय स्तरमा तयारी गरिरहेको भए पनि सरकारको निर्णय नआउँदासम्म सीमा पारी रहेका नेपालीलाई फर्काउने विषयमा कुनै निर्णय गर्न नसकिने प्रशासन कार्यालयले जनाएकाे छ।
जिल्लामा आरडीटी कीटको अभाव भएकाले थप कीटका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्केका सबैको आरडीटी गर्ने भनेकाले थप कीट आवश्यक भएकाले प्रदेश सरकारलाई आग्रह गरेकाे उनले बताए ।
लकडाउनका कारण खानाकाे समस्या भएका परिवारलाई स्थानीय तहले वितरण गर्ने राहतमा एकरुपता ल्याउने निर्णय पनि भएको छ ।
प्रतिकृया दिनुहोस