२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कुकुर पाल्न अब अनुमति लिनुपर्ने !

- विशेष खबर शनिबार ०९, असोज २०७८ १२:०७

कुकुर पाल्न अब अनुमति लिनुपर्ने !

पाेखरा । महानगरपालिकाले नेपालमै पहिलोपल्ट कुकुरको दर्ता अनिवार्य गरेको छ। महानगरको छैटौं नगरसभाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ पारित गरेको थियो ।

उक्त ऐनमा कुकुरपालकले अनिवार्य दर्ता गरेर अनुमतिपत्र लिनुपर्ने व्यवस्था थियो । ऐन पारित भएको दुई वर्षपछि कार्यान्वयनमा आएको हो ।  

महानगरपालिकाले बिहीबारबाट आफ्ना १० पशु सेवा केन्द्रमा दर्ता प्रक्रिया सुरु गरेको छ । कुकुरपालकले एक सय रुपैयाँ बुझाएपछि कुकुर दर्ता तथा पाल्ने अनुमतिपत्र पाउँछन् ।

महानगरले पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, जात/नश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्छ । अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ ।

ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ । ऐनविपरीत कार्य गरे कुकुरपालकलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ । छाडा छोडिएका कुकुर कसको हो भन्ने ट्यागबाट पत्ता लगाउने र जरिवाना गरिने वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए ।  

पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीका अनुसार बिहीबार र शुक्रबार महानगरभित्र १ सय ४० कुकुरको दर्ता भएको छ । वडा ८ मा मात्रै ७८ कुकुर दर्ता गरेका छन् । बिहीबार सुरु भएदेखि निरन्तर दर्ता प्रक्रिया चल्ने उनले बताए ।  


प्रतिकृया दिनुहोस