२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

हुम्लाका ठकुरी बस्तीमा गौरा पर्व सुरु

बुधबार ३०, भदौ २०७८ ०७:१६

हुम्लाका ठकुरी बस्तीमा गौरा पर्व सुरु
सुदूरपश्चिमकाे एक गाउँमा गाैरा पूजा गरिँदै । फाइल तस्बिर

सिमकाेट । हुम्लाका ठकुरी बस्तीमा आजदेखि गौरा पर्व सुरु भएको छ । विभिन्न चाडमध्ये विशेष धार्मिक महत्व बोकेको गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । सोहीअनुसार नाम्खा गाउँपालिकाबाहेक अन्य पालिकाका वडामा बसोबास गर्दै आएका ठकुरीहरुले आजदेखि धुमधामका साथ गौरा पर्व मनाउने गर्दछन् । धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । 

ब्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका–७ डाँडाफयाँ निवासी मन्दिर सिंहले जानकारी दिए ।

घर आसपासका खेतमा गई सामूहिकरूपमा महिलाले फाग गीत गाउँदै गौरा भगवतीको प्रतिमा तयार पार्नुका साथै बर्तालु महिलाको सहभागितामा गौरा भित्र्याइसकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको सिंहले बताए । 

पुरूषले ढाल तरबार खेल्ने र व्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने कार्यमा सहभागी हुने गर्छन् । गौरा पर्वमा विशेषगरी पहिलो दिन गौरा लिन ढाल तरबार नाच्दै पुरुष महिला मिलेर लिन जाने र दोस्रो दिन मन्दिरमा ल्याउने गरिन्छ । पूजा गर्दा अक्षताका रूपमा ‘बिरुडा’ (गहुँ, मास, गहत, गुराँस र केराउ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाहीले बताए । 

बिरुडालाई आफन्त, छरछिमेक तथा इष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको उनले बताए । यसरी गौरा भित्र्याई पूजाको काम सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रूपमा गोलबन्द भई देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । 

त्यस्तै भक्तालु महिला आज ठकुरी बस्तीमा रहेका शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्न व्यस्त देखिन्छन् । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ ।

पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिकारूपमा पाउन गरिएको उपबासको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ । (रासस)


प्रतिकृया दिनुहोस