२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा, उपत्यकामै डुबान

सोमबार २१, भदौ २०७८ १२:५७

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा, उपत्यकामै डुबान
अरनिको राजमर्गको बनेपा खण्डमा साेमबार बिहान भएकाे डुबान । तस्बिर : पेमा लामा/रासस

काठमाडाैं । मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ ।  

पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । 'उक्त प्रणालीको प्रभाव मङ्गलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि मौसममा सुधार हुनेछ,' उनले भने, 'स्थानीय वायुको प्रभावले राति र बिहानपख बढी वर्षा हुने गरेको छ ।'

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौँ उपत्यकामा १२१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए।

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए। विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ ।

जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

यसैगरी अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेकाे  थियाे। उक्त सडक खण्डमा डुबानले कतिपय सवारीसधान फसेका थिए । डुबानका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प छ । -(रासस)


प्रतिकृया दिनुहोस