२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

जेठ ३१ यता मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु, ४४ वेपत्ता

- रासस शुक्रबार ११, भदौ २०७८ ०६:२७

जेठ ३१ यता मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु, ४४ वेपत्ता

काठमाडाैं । मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म ५ हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिइन् । 

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालयमा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद् बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए ।

आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । 

महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको बताइन् । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

वेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन 

गृहमन्त्री खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक अवरुद्ध भएको र त्यस स्थानमा तत्काल वेलिवृज बनाउन निर्देशन दिनुभएको छ । 

बाढी प्रभावित ४ सय परिवारलाई सुरक्षित स्थानमा राख्न र तत्काल राहत तथा उपचारको ब्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि उनले सबै सुरक्षा निकाय तथा मातहतका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।

अवरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरे। आजको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जल तथा मौसम विज्ञान विभागका अधिकारीको सहभागिता थियो ।


#मनसुनजन्य #गृह मन्त्रालय

प्रतिकृया दिनुहोस