शुक्रबार १२, बैशाख २०७७ ०८:३३
दार्चुला। ब्यास गाउँपालिकाले कोराना भाइरसका कारण लकडाउन हुदा काम गर्न नपाएर खाद्यान्न अभाव झेल्दै आएका एक हजार ८२ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिरहेको छ । ब्यासका विपन्न, असहाय, ज्यालादारीमा काम गर्नेलाई गुजारा चलाउन राहत वितरण भइरहेको हो ।
गाउँपालिकाका अनुसार वडा नम्बर १ मा ५८ परिवार, वडा नम्बर २ मा १५७ परिवार, वडा नम्बर ३ मा ७७ परिवार, वडा नम्बर ४ मा १३० परिवार, वडा नम्बर ५ मा २९३ परिवार र वडा नम्बर ६ मा ३५५ परिवारलाई राहत वितरण भइरहेको छ । गाउपालिकाले पूरा राहत पाउने र आधा राहत पाउने संख्या छुट्याएर राहत वितरण गरिरहेको छ । जसमा आधा राहत पाउनेमा एक सय तीन परिवार र पूरा राहत पाउने परिवार संख्या नौ सय ७९ रहेका छन् ।
कोरोना भाईरसका कारण देश लकडाउनमा भएको बेला गरिब विपन्न घरधुरीको चुलो बाल्न नसकिने अवस्थालाई मध्यनजर गर्दै ब्यास गाउपालिकाले राहतसंगै ग्यास पनि वितरण गरिरहेको छ । गाउँपालिकाभरिका गरिब, विपन्न, असहाय घरधुरीको लगत संकलन गरी वडा कार्यालयमार्फत राहत सामग्री वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए ।
सरकारको मापदण्ड अनुसार गाउपालिकाका सबै वडाहरुमा राहत वितरण भईरहेको छ । वडा नम्बर ६ मा राहतसँगै गरिब तथा विपन्न परिवारलाई धुवामुक्त कार्यक्रम अन्तर्गत ग्यास सिलिण्डर पनि उपलब्ध गराउदै आएको उनको भनाई छ ।
धुवामुक्त कार्यक्रम अन्तर्गत ब्यास गाउपालिकाका सम्पूर्ण घरधुरीलाई वितरण गर्नुपर्ने ग्यास सिलेण्डर देशभर लकडाउनका कारण पूर्ण संख्यामा आपूर्ति गर्न नसकिएको हुनाले अहिले हुतीमामात्र वितरण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
ग्यास सिलिण्डर खरिद प्रक्रिया अगाडि बढिसकेको र लकडाउनका कारण ढिलाइ भएकाले पहिल्यै खरिद गरिएको ग्यास तत्काललाई हुतीबाट वितरण सुरु भएको हो । साविकको हुतीमा घरधुरी संख्या ५ सय ३० रहेको र ग्यास सिलेण्डर ४ सय ६० भएको हुँदा अहिले गरिब, विपन्न र मजदुरी गरेर घर चलाउने परिवारहरुलाई वितरण भईरहेको गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताए । अहिले ग्यास सिलिण्डर खरिदका लागि वडा नम्बर ४ र ५ लाई भ्याउनु गरी टेण्डर प्रक्रिया सुरु भएको र लकडाउन खुल्ने वित्तिकै खरिद गरी वितरण गरिने उनले जानकारी दिए । सबै वडाका घरधुरीमा ग्यास सिलिण्डर वितरण गरी गाउँपालिकालाई धुवामुक्त पालिका बनाउने अभियानमा अगाडि बढेको जनाएको छ ।
प्रतिकृया दिनुहोस