२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अझै केही दिन मनसुन सक्रिय हुने

- रासस आइतबार ०६, भदौ २०७८ ०५:५४

अझै केही दिन मनसुन सक्रिय हुने

काठमाडाैं । अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि  सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

'न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,' मौसमविद् श्रेष्ठले भने । विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 
    
हाल देशभर  सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 


#मनसुन #मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस